Skip to content

जानकीका मनपरी-वडाध्यक्षले नियम विपरीत लिए भ्रमण भक्ता

कैलाली ११/ कार्तिक
कैलालीको जानकी गाउँपालिकामा भ्रमण खर्च नियमावली, २०६४ को व्यवस्थाविपरीत वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुले भ्रमण भत्ता लिएका छन् । महालेखापरीक्षकको प्रतिवेदनले नियम विपरित जनप्रतिनिधिहरूको भ्रमण भक्ता र हवाई यातायातमा गरिएको खर्चमाथि प्रश्न उठाएको हो ।
वडा अध्यक्ष कमल महतो, इन्द्र चौधरी, खकेन्द्र भण्डारी, भीमबहादुर चौधरी, तीर्थराज उपाध्याय र सुरेश चौधरीले भ्रमण भत्ता लिएका छन्। त्यसैगरी, कार्यपालिका सदस्य पार्वतीदेवी डंगौरा थारु र इन्द्रा सोप वि.क. तथा वडा सदस्य मोहनकुमार डंगौराले समेत भ्रमण भत्ता लिएका छन । उनिहरुले लिएको भ्रमण खर्च नियमावली विपरित भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखापरीक्षकको प्रतिवेदनमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ ले वडा समितिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको उल्लेख गरिएको छ। त्यस्तै, भ्रमण खर्च नियमावली, २०६४ को नियम ४ अनुसार सरकारी खर्चमा भ्रमण गर्ने पदाधिकारी तथा कर्मचारीले सम्भव भएसम्म किफायती र कम खर्चिलो मार्ग वा यातायातको साधन प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

तर, गाउँपालिकाका जनप्रतिनिधिहरूले आफ्नो काम, कर्तव्य र अधिकारसँग स्पष्ट रूपमा सम्बन्धित नदेखिने संघीय मन्त्रालयमा योजना माग गर्ने तथा कार्यालयको विशेष कामको सिलसिलामा काठमाडौं गएको भ्रमण देखाई हवाई भाडामा १ लाख ५५ हजार ४ सय रुपैयाँ खर्च लेखेको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक यातायातका साधन सहज रूपमा उपलब्ध हुँदाहुँदै पनि हवाई यातायात प्रयोग गरिएको भन्दै महालेखापरीक्षकको प्रतिवेदनले भ्रमण खर्चलाई किफायती र मितव्ययी बनाउन ध्यान दिनुपर्ने औँल्याएको छ ।

सरकारी खर्चमा मितव्ययिता अपनाउनुपर्ने र कानुनी व्यवस्थाको पालना गर्नुपर्ने अवस्थामा जनप्रतिनिधिहरूको भ्रमण खर्चमाथि महालेखापरीक्षकले प्रश्न उठाएपछि जानकी गाउँपालिकाको खर्च व्यवस्थापनमाथि चासो बढेको छ ।

 

Hide Ads for Premium Members by Subscribing
Hide Ads for Premium Members. Hide Ads for Premium Members by clicking on subscribe button.
Subscribe Now