काठमाडौं १० /कार्तिक
पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगालको खाडीमा विकसित हुने चक्रवात ‘अर्नब’को समेत प्रभाव पर्ने भएकाले आगामी शुक्रबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार मंगलबार र बुधबार देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ । तर, बिहीबारदेखि मौसममा क्रमिक बदलाव आउने र शुक्रबार तथा शनिबार वर्षा तथा हिमपातको सम्भावना बढ्ने देखिएको छ ।
विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहे पनि बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ । बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बादल लाग्नेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
बिहीबारदेखि भने देशका विभिन्न भागमा बदली बढ्नेछ । कोशी, मधेश, बागमती, गण्डकी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानसहित अन्य हिमाली क्षेत्रमा पनि मध्यम हिमपातको सम्भावना छ ।
शुक्रबार र शनिबार वर्षा तथा हिमपातको सम्भावना बढ्ने
विभागका अनुसार शुक्रबारदेखि देशका अधिकांश स्थानमा बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ ।
यी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ । विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ ।
शनिबार पनि कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली रहनेछ। हिमाली भूभागका अधिकांश स्थानमा बादल लाग्ने तथा केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ ।
सतर्कता अपनाउन विभागको आग्रह
विभागले बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षा र हिमपात हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ ।
वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने, दैनिक जनजीवनमा असर पर्न सक्ने र हिमाली क्षेत्रमा पदयात्रा तथा पर्यटकीय गतिविधिमा जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
विभागले सम्भावित जोखिमबाट बच्न मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिन तथा सम्बन्धित निकायले आवश्यक तयारी गर्न अनुरोध गरेको छ ।

