कैलाली २२/कात्तिक
दैलेखको ठाटीकाँध गाउँपालिका वडा न.४, धनकोट भन्ने ठाउँमा एक जना व्यक्तिले धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार, आज बिहान करिब ५ बजेतिर अन्दाजी ३६र३७ वर्षीय बमबहादुर रावलले सोही स्थानका चन्द्रबहादुर पुन मगरको घरमै पसेर अन्धाधुन्ध हतियार प्रहार गरेका थिए ।
आक्रमणबाट चन्द्रबहादुरकी श्रीमती बिमा गम्भीर घाइते भएकी छिन् । बाँकी २५ वर्षीया भाइबुहारी महेसरा पुन तथा छोरीहरू २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुन मगर घाइते भएका छन् । घाइतेमध्ये बिमाको टाउको र अनुहारमा गहिरो चोट लागेको छ भने महेसराको दुवै हत्केला छिनेको दैलेख प्रहरीले जनाएको छ।
उनीहरू दुवैको अवस्था गम्भीर छ । त्यस्तै, लक्ष्मी र तिलाको अवस्था भने मध्यम रहेको छ । घाइते चारै जनाको हाल स्थानीय मेडिकलमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको दैलेख प्रहरीले जनाएको छ । आक्रमण गर्ने बमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

