सुर्खेत १७ /कार्तिक
डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जना रुकुम पश्चिममा पक्राउ परेका छन् ।
प्रहरीले मङ्गलवार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष सिंह राठौरका अनुसार चौरजहारी बेस क्याम्प र गोतामकोट प्रहरी चौकीबाट खटिएको पाँच सदस्यीय प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
डोल्पा कारागारबाट फरार कैदीहरूको खोजी गर्ने क्रममा दामाचौरबाट राडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको जिप जाँच गरिएको थियो । सोही क्रममा जिपमा सवार उनीहरूले भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
गत कात्तिक १४ गते बिहान ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका थिए ।
पक्राउ परेका दुवै जनालाई गोतामकोट प्रहरी चौकीमा राखिएको छ । उनीहरूको पक्राउसँगै फरार आठ जनामध्ये दुई जना प्रहरीको नियन्त्रणमा आएका छन् ।

