लम्की २७ /जेठ
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लम्की कैलालीको आयोजनामा अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
केन्द्र नं. ४७ सुन्दर मिलन महिला समूहकी अध्यक्ष गौरी खड्काको सभापतित्व तथा अनुगमन कार्यालय अत्तरिया, कैलालीका अनुगमन अधिकृत अमरेश कुमार कुशवाहाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भूमि प्रशासन कार्यालय टिकापुरका कार्यालय प्रमुख अशोक सार्की विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी लम्की पशु सेवा कार्यालयका जङ्गबहादुर शाही, नेसनल लाइफ इन्सुरेन्सकी प्रतिनिधि स्नेहा तिवारी, इलाका प्रहरी कार्यालयका प्रतिनिधि तथा समाजसेवी शालिग्राम पुडासैनीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन झलारी शाखाका शाखा प्रमुख कृष्णराज उपाध्यायले गर्नुभएको थियो। कार्यक्रममा लम्की शाखाका शाखा प्रमुख मनोज कुमार पण्डितले शाखाको लक्ष्य तथा प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने अनुगमन अधिकृत अमरेश कुमार कुशवाहाले संस्थाको समग्र गतिविधि, वित्तीय सेवा तथा वित्तीय साक्षरतासम्बन्धी जानकारी गराउनुभएको थियो।
लम्कीचुहा नगरपालिका, टिकापुर नगरपालिका तथा जानकी गाउँपालिकाभित्र रहेका ९५ वटा केन्द्रमार्फत संस्थाले करिब १,१८५ घरधुरीलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। हाल ५९० जना ऋणी सदस्यमार्फत ११ करोड ५० लाख रुपैयाँ कर्जा लगानी तथा २ करोड २६ लाख रुपैयाँ बचत संकलन भएको जानकारी कार्यक्रममा दिइएको थियो। कार्यक्रममा ७५ केन्द्रका समूह अध्यक्षहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उत्कृष्ट समूहहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। उत्कृष्ट उद्यमी सदस्य, बचतकर्ता सदस्य तथा समूह अध्यक्षहरूलाई कदरपत्र प्रदान गरिएको थियो भने ‘ए’ ग्रेड प्राप्त समूहहरूलाई त्रिपाल वितरण गरिएको थियो। कार्यक्रमको समापन गर्दै सभापति गौरी खड्काले संस्थाको सेवा र गतिविधि प्रभावकारी रहेको बताउँदै समूहहरूलाई थप व्यवस्थित, अनुशासित र व्यावसायिक बनाउन सबै अध्यक्षहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

