3.5kViews
1372
Shares
पुष १३/लम्की
व्यवसायी चन्द्र ढकाल र सूर्य बहादुर थापाको लगानी रहेको जालपादेवी केबलकारको शिलान्यास गरिएको छ । शनिवार नेपाल सरकारका परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले केबलकारको शिलान्यास गरेकी हुन । लम्कीचुहा नगरपालिका वडा न.३ चिसापानीमा बेस स्टेसन रहने केबलकारको शीर्ष बिन्दु भने मोहन्याल गाउँपालिको वडा न.७ राज काँडामा रहने छ।
शिलान्यास कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् जालपादेवी केबलकारका संचालक चन्द्रप्रसाद ढकालले प्रदेश र स्थानीय तहबिच लगानीकर्तालाई सम्भावित आयोजनामा लगानीका लागि आह्वान गर्ने प्रतिस्पर्धा हुन सके मात्रै आर्थिक विकास र समृद्धि हासिल हुने बताए। चन्द्रागिरिकै मोडलमा सात वटै प्रदेशमा केबलकार, होटेल तथा रिसोर्टसहितको विशाल पर्यटन पूर्वाधार निर्माणको उद्देश्य लिएर आफू अघि बढिरहेको अध्यक्ष ढकालको भनाइ रहेको थियो ।
उद्योगपति एवम् जालपादेवी केबलकारका अर्का संचालक सूर्य बहादुर थापाले केबलकारको निर्माणले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा महत्त्वपूर्ण टेवा पुग्ने बताएका थिए ।सात अर्बको लगानीमा केबुलकार लगायतका संरचनाहरू निर्माणको काम थालेको थालनी भएको छ। कम्पनीले नेपाल सरकारलाई रुखको क्षति बाफतको तीन करोड ५० लाख रुपैयाँ बुझाएको थियो। जाल्पादेवी केवलकार कम्पनीको नाममा रहेको दुई सय ५० रोपनी जग्गामा घेरबार, केबुलकार, मन्दिर, एक हजार व्यक्तिको लागि पार्क, स्टेशनहरू, चमेनागृहहरू, पाँच तारे होटेल, चिसापानीमा एक हजार मान्छेका लागि हल, क्यासिनो लगायतका संरचनाहरू निर्माण सुरु गरिने भएको हो। केबुलकारको काम सुरुमा हुने र संरचनाहरू निर्माण हुँदै जाने संचालक थापाले बताएका छन ।