Skip to content

सुत्केरीको उपचारका क्रममा बाजुरामा मृत्यु

पुष २५/कैलाली
बाजुरामा उपचार गर्ने क्रममा एक जना सुत्केरीको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा १२ दिनकी सुत्केरीको मृत्यु भएको हो ।

हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षीया अन्सु बुढाको उपचारका क्रममा मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रञ्जित शाहले जानकारी दिए। उनी यही पुस १२ गते गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन्।

सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि उनको परिवारले थप उपचारका लागि कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको डा. शाहले बताए। सुत्केरीपछि बुढामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो। समयमै उपचारका लागि सुविधायुक्त अस्पताल लैजान सकेको भए उनलाई बचाउन सकिने चिकित्सकको भनाइ छ। शिशुको अवस्था भने सामान्य रहेको डा.शाहले बताए।