काठमाडौँ १६/ कात्तिक
डोल्पाको दानिगढ क्षेत्रमा हिमपातका कारण फसेका भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ। डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार फसेका छ जना पर्यटकमध्ये दुई जना महिला पर्यटकलाई सोमबार बिहान सिमिकोट ल्याइएको छ।
उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ। बाँकी चार जना पर्यटकलाई ल्याउन हेलिकप्टर पुनः दानिगढतर्फ उडेको छ। आइतबार नै उद्धार गर्ने तयारी गरिए पनि प्राविधिक कारणले सम्भव हुन सकेको थिएन। सुरुमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको भए पनि उड्ने समयमा प्राविधिक समस्या आएको थियो।
त्यसपछि सिम्रिक एयरको हेलिकप्टर पठाउने तयारी गर्दा बेलुका साढे चार बजे पुनः समस्या देखिएको थियो। सोमबार बिहानै ६ बजे हेलिकप्टर उडाएर उद्धार कार्य अघि बढाइएको हो।
केही दिनदेखिको भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढमा भारतीय पर्यटकहरू फसेका थिए। हिमपातमा फस्ने पर्यटकहरूमा मौमिता हल्दार, पियाली कोले, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना विश्वास र राजेश दे रहेका छन्।

