कैलाली २२ /असार
कैलालीमा ट्राफिक प्रहरीले राजमार्गमा सवारीसाधन चलाउने चालकहरूलाई लक्षित गरी लागूऔषध सेवन (लापसे) परीक्षण सुरु गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबार गोदावरी नगरपालिका क्षेत्रमा सवारी चालकहरूलाई रोकेर लापसे परीक्षण गरेको थियो। सो क्रममा ३२ जना चालकको परीक्षण गर्दा पाँच जना चालकले लागूऔषध सेवन गरी सवारी चलाएको पुष्टि भएपछि पक्राउ गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक रेशम आचार्यका अनुसार लागूऔषध सेवन गरेर सवारी चलाएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा ना ५ ख ३०० नम्बर बस चालक धनगढी–७ पटेलाका रामकृष्ण चौधरी, सुपप्र ०१००१ ज ००३५ ईभी गाडी चालक बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का सुरेश बोहरा, सुपप्र ०१००१ च ३६३१ नम्बरको बोलेरो जिप चालक धनगढीका पहिलाद राना, सुपप्र २००१ ख १२८७ नम्बरको बस चालक कञ्चनपुरका महेश बहादुर चन्द तथा सुपप्र ०२००१ ख ११७९ नम्बरको बस चालक बैतडीको दोगडाकेदारका धिरेन्द्र कार्की रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका पाँचमध्ये चार जना पहाडी रुटमा सवारी चलाउने चालक हुन्। सबै पाँच जनाले लागूऔषध सेवन गरेको पुष्टि भएको निरीक्षक आचार्यले जानकारी दिए।ट्राफिक प्रहरीले उनीहरूलाई कानुनबमोजिम कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाएको जनाएको छ।

