कैलाली ९/ वैशाख
कैलालीको टीकापुर नगरपालिका,जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध गरेका छन्। पालिकाहरूले किसानले गहुँ बाली भित्र्याइसकेपछि खेत सरसफाइ गर्ने जनाउँदै आगो लगाउने कार्य नगर्न सूचना गरेर अनुरोध गरेका छन्। खेतबारीमा आगो लगाउँदा माटो सुरक्षामा असर पर्ने, वातावरण प्रदूषित हुनुका साथै बस्तीमा आगलागीको जोखिम बढ्ने भएकाले आगो नलगाउन सूचना गरेका हुन्। बारीमा रहेका गहुँका नल सफाइ गर्न किसानले खेतबारीमा आगो लगाउँदा धनजनको क्षतिका घटना हुने भएकाले सचेत हुन कैलालीको पुर्वी क्षेत्रमा रहेको जानकी गाउँपालिकाले आग्रह गरेको छ।
गहुँ बाली भित्र्याउने क्रममा निस्किएको नल/भुसा खेतमा नजलाई टीकापुरमा रहेको गौशालामा रहेका गाईवस्तुको आहाराका लागि निःशुल्क उपलब्ध गराइदिन जानकी गाउापालिकाले अनुरोध गरेको छ । टीकापुर नगरपालिकाको वडा न.२ मा रहेको गौशालामा जानकी गाउँपालिका र टीकापुर नगरपालिका क्षेत्रका छाडा चौपायाहरु राख्ने गरिएको छ। गौशालामा रहेका गाईवस्तुलाई आहारा अभाव भएका बेला किसानले खेतबारीमा आगो लगाएर आहारा नष्ट गर्नुभन्दा पशुलाई उपलब्ध गराउन पालिकाले आग्रह गरेको छ ।

