कैलाली २८ /कार्तिक
लम्कीचुहा नगरपालिकामा सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाको निर्माणका लागि नगर विकास कोष र लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, कैलाली बीच लगानी सम्झौता सम्पन्न भएको छ।
नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभाग, सह–लगानी आयोजना व्यवस्थापन कार्यालय मार्फत स्वीकृत सो आयोजनाको कुल लागत रु. २९ करोड ४८ लाख ३२ हजार (VAT सहित) रहनेछ।
सम्झौताअनुसार, नेपाल सरकारको अनुदानबाट ७० प्रतिशत (रु. २० करोड ६३ लाख ८२ हजार ४ सय), नगर विकास कोषबाट २५ प्रतिशत (रु. ७ करोड ३७ लाख ८ हजार) र उपभोक्ता संस्थाबाट ५ प्रतिशत (रु. १ करोड ४७ लाख ४१ हजार ६ सय) लगानी हुनेछ।
नगर विकास कोषले उपभोक्ता संस्थालाई उक्त रकम ४ वर्षको सहुलियत अवधि सहित २० वर्षभित्र तिर्ने गरी वार्षिक ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता भएको हो।
सम्झौतामा नगर विकास कोषका तर्फबाट कार्यकारी निर्देशक र उपभोक्ता संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेले हस्ताक्षर गरेका छन्।
त्यस्तै, सो आयोजनामा लम्कीचुहा नगरपालिका जमानतकर्ताको रूपमा सहभागी रहेको छ, जसमा नगर प्रमुख सुशिला शाहीले हस्ताक्षर गरेकी छन्।
सम्झौता अनुसार, उपभोक्ता संस्थाले हरेक आर्थिक वर्षको साधारण सभा र लेखापरीक्षण प्रतिवेदन ३० दिनभित्र कोषमा पठाउने र तोकिएका सबै कानूनी तथा वित्तीय प्रावधानहरूको पालना गर्ने प्रतिवद्धता जनाएको छ।
सो आयोजना कार्यान्वयनमा आएपछि लम्कीचुहा नगरका बासिन्दाहरू शुद्ध खानेपानी र सरसफाई सुविधाबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

