Skip to content

माओवादीको तराई–मधेस जागरण अभियान आज कञ्चनपुरबाट सम्पन्न हुँदै

कैलाली /वैशाख १७
नेकपा माओवादी केन्द्रको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ तराई–मधेस जागरण अभियान आज सम्पन्न हुँदैछ । फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट अभियान सुरु भएको थियो । पटक पटक स्थगित हुँदै आएको अभियान बुधबार कञ्चनपुरको महेन्द्र नगरमा विरोधसभा गरी सम्पन्न हुने महासचिव देव गुरुङले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव गुरुङ, सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा उपमहासचिव गिरिराजमणि पोखरेल लगायतका शिर्ष नेताहरू सहिद परिवार भेटघाटको क्रममा अहिले कञ्चनपुरको बेलौरी बजार पुगेका छन् । अभियान सम्पन्न गरेर साँझ काठमाडौँ फर्किने गुरुङले बताए । ‘हामी अहिले सुदूरपश्चिमको कञ्चनपुरमा आइपुगेका छौँ । महिन्द्र नगरमा सभा गरेर अभियान सम्पन्न हुनेछ । साँझ काठमाडौँ फर्किने तयारीमा छौँ’, उनले भने ।

पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि ६ महिना तराई–मधेस, पुष्पलाल मध्यपहाडी राजमार्ग, हिमाली तथा पहाडी जिल्लाहरूमा अन्तरक्रिया, जनपरिचालन, जनसभा, पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार फागुन १२ गते झापा, १३ गते मोरङ, १४ गते सुनसरीमा सहिद, घाइते अपाङ्गता परिवारसँग भेटघाट, जनअन्तरक्रिया तथा सहरका विभिन्न स्थानमा साना ठुला सभा आयोजना गरेको थियो ।

पूर्वको अभियान सम्पन्न भएपछि माओवादीका अभियान टोली फागुन १५ गते मधेस प्रदेशको सप्तरी प्रवेश गरेको थियो । १६ गते सिराहा, १७ गते धनुषामा अभियान सम्पन्न भएपछि पूर्वनिर्धारित कार्यतालिका परिमार्जन गरेको थियो । जसअनुसार २२ गते महोत्तरी, २३ गते सर्लाही २४ गते रौतहटमा अभियान सम्पन्न गर्‍यो । तर गणतन्त्रविरुद्ध राजावादीहरू सक्रिय रहेको निष्कर्ष निकाल्दै अभियान स्थगित गरी माओवादी काठमाडौँ फर्कियो । मधेसको बाँकी जिल्ला बारा, पर्साको अभियान चैत ७ र ८ गते सम्पन्न गर्‍यो ।

चैत ९ गते बागमती प्रदेशको चितवनमा अभियान सम्पन्न गरी व्यवस्थाविरुद्ध भइरहेको राजावादीहरूको अभियानलाई चुनौती दिने भन्दै फेरि काठमाडौँ फर्कियो । चैत १५ गते समाजवादी मोर्चाका दलहरूसँग मिलेर भृकुटीमण्डपमा विरोध सभा गर्‍यो । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने बिचबिचमा ब्रेक गरी अभियान सञ्चालन गरेको हो ।

लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा सभा तथा अन्तरक्रिया, सहिद परिवारसँग भेटघाट गरी अभियान टोली वैशाख १५ गते सुदूरपश्चिमको कैलाली प्रवेश गरेको थियो । हुलाकी मार्गले गण्डकी प्रदेश र कर्णाली प्रदेशका जिल्लालाई छोएको छैन ।

अभियान अवधिमा अन्य पार्टीका नेता तथा कार्यकर्ता र सामाजिक व्यक्तित्वहरूलाई पार्टी प्रवेश गराउने, २०६४ मा माओवादीलाई मतदान गर्ने जनतासँग भेटघाट, स्वागत र पुनर्मिलन गराउने काम गरेको थियो ।

व्यवस्था विरोधी गतिविधि, भ्रष्टाचार, बेथिति, सरकारी ढिलासुस्ती, कर छली, तस्करी र अनियमितताविरुद्ध निगरानी र भण्डाफोर अभियान गर्न अभियान सफल भएको माओवादीको दावी छ ।

चैत १८ र १९ गते बसेको माओवादीको पदाधिकारी बैठकले तराई–मधेस केन्द्रित अभियान अत्यन्तै प्रभावकारी रहेको निष्कर्ष निकालेको थियो । तराई–मधेसको २० जिल्लामा जोडिएको यो मार्ग पूर्वमा झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्म फैलिएको छ ।

About The Author