मंसिर ५ /कैलाली
डडेल्धुराको परशुराम नगरपालिका ९ नौलामा भएको जिप दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार मृत्यु हुनेमा दुवै जना डडेल्धुराका छन् ।
जिल्ला प्रहरी कार्यालयका डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार मृत्यु हुनेमा परशुराम नगरपालिका ९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका ७ की ३८ वर्षीया धनादेवी बुढा रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी ९ जना घाइते भएको प्रहरी निरीक्षक विष्टले बताए । घाइतेको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीदेखि परशुराम नगरपालिकाको जोगबुडातर्फ गइरहेको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप कञ्चनपुर र डडेल्धुराको सीमा नजिकै नौलामा मंगलबार दिउँसो दुर्घटना भएको थियो । जिप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा १२ जना सवार रहेको प्रहरीले जनाएको छ । चालक सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।