असार ७ /लम्की
कैलालीको जानकी गाउँपालिकाका पदाधिकारीको सुविधामा ९४ लाख २१ हजार १३० रुपैयाँ खर्च भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षणको अन्तिम प्रतिवेदनमा उक्त रकम पदाधिकारीको सुविधामा खर्च भएको देखाएको छ ।
प्रतिवेदनमा भनिएको छ ‘यस वर्ष पदाधिकारी सुविधामा ९४ लाख २१ हजार १३० रुपैयाँ खर्च भएको छ जुन आन्तरिक आएको ५० प्रतिशत रहेको छ । पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ७७.५० प्रतिशत चालु र २२.५० प्रतिशत पुँजीगत निर्माणमा खर्च भएको देखिन्छ ।’ त्यस्तै प्रतिवेदनमा यसबाट पालिकाले विकास निर्माणका कार्यक्रम सञ्चालनमा न्यून खर्च गरी प्रशासनिक कार्यमा बढी खर्च गरेको देखिन्छ । प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँडको रकम अधिकतम रूपमा विकास निर्माणमा परिचालन गरिनु पर्ने महालेखाले औँल्याएको छ ।