4.1kViews
1697
Shares
कृष्ण थापा
वैशाख ३०/लम्की
कैलालीको पूर्वी क्षेत्रमा पर्ने जानकी गाउँपालिकाले कृषि मेलाको आयोजना गर्ने भएको छ। किसानलाई कृषि प्रविधि र व्यवसायीसँग जोड्न गाउँपालिकाले कृषि मेला आयोजना गर्न लागेको हो कृषि विकास शाखा प्रमुख लालवीर चौधरीले बताउनु भएको छ। गाउँपालिका जेठ ३ गते देखि ५गते सम्म कृषि मेला आयोजना गर्ने गरी तयारीमा जुटेको छ। कृषि मेलाबाट किसानले फाइदा लिन सक्ने अपेक्षा गाउँपालिकाको छ।
जानकी गाउँपालिका र सिमिट नामक गैरसरकारी संस्थाले संयुक्त रूपमा कृषि मेला आयोजना गर्न लागेका हुन्। कार्यक्रमको आयोजक सिमिट हो भने पालिकाले कार्यक्रमका लागी समन्वय गरिदिने छ । मेलामा दैनिक २ हजार देखि ३ हजार कृषक सामेल हुने पालिकाले अनुमान गरेको छ । किसानले उत्पादन गरेका बस्तुहरूको बजारीकरण र उत्पादनमा वृद्धि गराउने तालिम समेत किसानहरूले पाउने छन् ।
कृषि मेलामा सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका प्राध्यापक सहित विज्ञहरूको उपस्थित रहने छ । मेलामा किसानहरूले माटो परीक्षण समेत गराउन सक्ने जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताउनु भएको छ । ३ दिन सम्म आयोजना हुने कृषि मेलामा पालिकाका वडा न.१ देखि ९ सम्मका करिब १५ हजार किसानहरूको सहभागिता रहने पालिकाले अपेक्षा गरेको छ ।