वैशाख २७/कोहलपुर
लागुऔषध कारोबारी नियन्त्रणमा लिन बाँके प्रहरीले कोहलपुरमा गोली चलाएको छ । प्रहरीको गोली लागेर कोहलपुर वडा न.१२ का २६ वर्षीय सुशील परियार घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बाँके प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डौबाट विशेष सूचनाका आधारमा बाँकेको कोहलपुरमा गएको टोलीमाथि आक्रमण भएपछि प्रहरीले गोली हानेर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक रुपेश विष्टको नेतृत्वमा प्रहरी सहायक निरीक्षक बालकृष्ण सन्जेलसहितको टोलीले कोहलपुरको चप्पलगौडामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ । प्रहरीलाई आक्रमण गरेर भाग्न थालेपछि प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीको गोली बायाँ खुट्टामा लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ । परियारसहितको समूहले नेपाल भारत सिमानामा बसेर लागूऔषध कारोबार गर्ने गरेको सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरोका विष्ट र सई सन्जेल नेतृत्वको टोलीले उनीहरूलाई पछ्याइरहेका थिए ।