कृष्ण थापा
चैत २२/ लम्की
लम्की टीकापुर सडक खण्डमा महेन्द्र बि.क.लाई ठक्कर दिएर फरार भएको टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जानकी गाउँपालिका वडा न।५ को पथरैयामा महेन्द्र बि.क.लाई से १ ख १९३१ नम्बरको टिप्परले किचेर मारेर फरार भएको थियो ।
घटना घटेको झन्डै ३० घण्टा पछि ईलाका प्रहरी कार्यालय टीकापुरले टिप्पर र चालकलाई नियन्त्रणमा लिन सफल भएको हो । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीका अनुसार जानकी गाउँपालिका वडा न.८ जवलपुरका ४७ वर्षका राम स्वरुप चौधरी टिप्पर चालक रहेका छन् ।
मंगलवार राती करिब साढे १० बजे तिर टिप्परले मृतक महेन्द्र बि.क.लाई किचेको प्रहरीले जनाएको छ । टिप्पर जैगडी क्रसर उद्योगमा चलने जानकी गाउँपालिका वडा न.९ का लोक बहादुर बडूवालको रहेको प्रहरीले जनाएको छ । घटना के कसरी भएको थियो भन्ने बारेमा सोधपुछ भइरहेको प्रहरी निरीक्षक लोकराज अवस्थीले बताएका छन् ।