माघ १४/कैलाली
सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन प्रदेश कमिटीले निर्देशन दिएको छ। प्रदेश संसदीय दलको नेता रहेका खगराज भट्टलाई दलको नेताबाट शुक्रवार हटाएपछि त्यो निर्णय सच्याउन माओवादी सुदूरपश्चिम प्रदेश कमिटीले निर्देशन दिएको छ।
माओवादी केन्द्र, सुदूरपश्चिमका प्रदेश कमिटीका अध्यक्ष हरि चौधरी (उत्सव) र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा केन्द्रीय कार्यालयको निर्देशनको अवज्ञा, पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने तथा कार्यकताहरूको मनोभावनाको विपरीत भएको भन्दै दलको नेता फेर्ने निर्णय सच्याउन भनिएको छ।
सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका सभामुखसहित ११ सदस्य छन्। अहिले उनीहरू दुई भागमा विभाजन भएका छन्। दलको नेता फर्ने निर्णयमा धामीसहित उपनेता अक्कल रावल, प्रदेश सभा सदस्यहरू शिवसिंह ओली, ओमविक्रम भाट (सरल), राज्यमन्त्रीसमेत रहेकी गीतादेवी माल र लक्ष्मी विकले हस्ताक्षर गरेका छन्।
