कालिकोट । जिल्लाका समाजसेवी टेकराज शाहीको विशेष पहलमा कालिकोटका ४ जना जेहेन्दार विद्यार्थीले प्लस टु अध्ययनका लागि छात्रवृत्ती प्राप्त गरेका छन् । कालिकोट जिल्लाकाे तिलागुफा नगरपालीकाका ४ जना विद्यार्थीलाई काठमाडौँका भिएस निकेतन मा वि, रिलायन्स कलेज र बु्रकलिन कलेजमा १२ कक्षा सम्मको अध्ययनका लागि छात्रवृत्ती प्रदान गरिएको हो ।
बुधबार एक कार्यक्रमको आयोजना गर्दै आपसी सहयोग बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ जना तथा स्वर्गिय डा. बाबुराम पोखरेल स्मृति प्रतिष्ठानले २ जनालाई छात्रवृत्ति प्रदान गरेको हो । शाहीको समन्वयमा आपसी सहयोग सहकारीका अध्यक्ष सुशिल ज्ञवाली, कोषाध्यक्ष डिल्ली कुमार थापा, तथा सहायक व्यवस्थापक बद्रि भट्टराई लगाएतले विद्यालयमै उपस्थित भएर छात्रवृत्ती प्रदान गरेका हुन् । सहकारीले सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रत्यक वर्ष विभिन्न विधामा सहयोग प्रदान गर्दै आइरहेको अध्यक्ष सुशिल ज्ञवालीले बताए ।
भिएस निकेतनमा सुन्दर बम र सुचना शाही तथा रिलायन्स कलेजमा विपिन शाही र ब्रुकलिन कलेजमा प्रतिक्षा शाहीले निशुल्क अध्ययनका लागि छात्रवृत्ती प्राप्त गरेका छन् । शाहीले कालिकोटका जेहेनदार विद्यार्थीका लागि यस अघि पनि प्राविधिक तथा व्यावसायिक शिक्षा आर्जन गर्नका लागि समन्वयकाे भूमिका खेल्दै आएका छन् । दुर्गम भेगका विद्यार्थीहरुले आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न आफु लागि रहेको शाही बताउँछन् ।