कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका १ मान्म बजारबाट बिहीबार रातिदेखि ४ वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छन् । पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी १ लुसा माइत भएकी २५ वर्षीया गीताकुमारी जैसी (शाही) र उनका ४ वर्षीया छोरा टेकेन्द्र शाही मान्म नावगैरास्थित डेराबाट बेपत्ता भएका हुन् ।
उनी दैखेल भगवतीमाई ५ कट्टी घर भएर मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । केही समय अघिसम्म कार्यालय सचिवको काम पनि गर्थे । उनले कालीकोटबाटै पहिलो विवाह गरेका थिए ।
महिला हिंसाको घटनामा जोडिएको भन्दै एमाले कालीकोटले उनलाई दुई साताअघि एमाले जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिसकेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
गत राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षको गुनासो छ । खाना खाएर सुत्न कोठा गएका हुन् । सुवेदी होटलका संचालक नमराज सुवेदीले भने, ‘पेट दुख्यो भन्थिन्, राति ११ बजे फोन गर्दा कट्यो । उनले थपे हामीले त निन्द्राले नउठाएको होला भन्ने सोच्यौं । अरु नै भएको रहेछ ।’ उनले राति नै उनकी सौताको संलग्नतामा हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने आशंका गरे ।
पतिसँग झगडा परेर एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको खबर प्रहरीसँग पुगेपछि खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए । हराएको खबर आएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । डीएसपी केसीका अनुसार कोठामा महिलाका रौं उखेलिएको अवस्थामा भेटिएको छ । उनकी सौता रेश्मा शाहीसहित तीन जनालाई सोधपुछको लागि प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिए ।
मान्म बजारमा ‘शाहीजी इलेक्ट्रोनिक्स’ संचालन गर्दै आएका शाहीको पक्की घर भए पनि गीतालाई घरमा बस्न नदिएकाले बाहिर कोठा लिएर बस्दै आएकी थिइन् । गीताको बस्ने कोठामा कपडा यत्रतत्र छरिएका, कपालको छालासहित रौं उखेलेर फ्याँकिएको अवस्थामा भेटिएकोले कोठामै आमाछोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने उनकी दिदी नाता पर्ने पवित्रा जैसी धमलाले बताइन् । उनकी पति र सौताको षड्यन्त्रमा बेपत्ता बनाइएको हुनसक्ने धमलाको दाबी छ । ‘पहिले पनि दिनदिनै कुटपिट गरेर घरमा बस्न दिएनन्,’ उनले भनिन्, ‘अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।’ उनले दानबहादुरले गीतालाई पहिले बलात्कार गरेर गर्भवती बनाएरपछि दोश्रो पत्नीको रुपमा स्वीकार गरे पनि हिंसा गर्दै आएको बताइन् ।
मान्म बजारमा बस्दै आएकी गीता हिंसा पीडित महिला हुन् । दैलेख भगवतीमाई ५ कट्टी स्थायी ठेगाना भइ मान्म बजारमा बस्दै आएका दानबहादुर शाहीले ५ वर्षअघि कान्छी श्रीमतीको रुपमा बिहे गरेर छोरा जन्माएपछि कुटपिट गर्दै हिंसा गर्न थालेपछि अलग बस्दै आएकी थिइन् ।
दुई साताअघि गीता र उनका छोरा मारिदिने र गत वर्ष लुसा भीरमा लडेर मरेका उनका बुवाको पनि आफैंले मान्छे लगाएर भीरबाट धकेल्न लगाएर हत्या गरेको फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
उनकी जेठी पत्नी रञ्जनाले भने दानबहादुरको फेसबुक गीता आफैंले चलाएर फसाउन म्यासेन्जरमा लेखेको बताउने गरेकी थिइन् । म्यासेन्जरमा अंश मुद्दा फिर्ता लिन धम्क्याउँदै उनको छोरा र उनलाई मार्ने धम्की दिइएको थियो । उनले म्यासेन्जरमा अदालत, न्यायाधीश सबैलाई आफूले किनिसकेको पनि लेखेको सार्वनिक भएको थियो ।
यहाँका प्रजिअ जोरासिंह माझीले आमाछोरा बेपत्ता भएको खबर आएकाले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।
दानबहादुर नेकपा एमाले कालिकोटका कार्यालय सचिव हुन्। केही दिनअघि श्रीमानले म्यासेन्जरमार्फत लिएको धम्कीसहित उजुरी लिएर गीता प्रहरी कार्यालय पुगिन्। प्रहरीले उनको उजुरी दर्ता गर्न मानेन। म्यासेन्जरमार्फत ससुरालाई आफूले मान्छे लगाएर मारेको बताएपछि गीताका दाजु गौरी जैसीले भदौ ९ गते कर्तव्य ज्यान मुद्दा प्रहरीमा दर्ता गराए। प्रहरीले उनलाई १० गते पक्राउ पर्यो।
प्रहरीले दान बहादुर शाहीलाई पक्राउ गरेसँगै उनकी कान्छी श्रीमती र छोरा भने कोठाबाटै हराएका छन्। गीता र उनका छोरा बिहीबार रातिबाट बेपत्ता भएका छन्। गीताका आफन्तले दानबहादुरले नै आमा–छोरालाई ‘गायब’ बनाएको आरोप लगाएका छन्। ‘अंश मुद्दा दर्ता भएपछि आमा–छोरालाई गायब बनाइदिन्छु भन्दै म्यासेज गरेको थियो,’ गीताका आफन्तले भने, ‘उसलाई प्रहरीले पक्राउ गरेसँगै आमा–छोरा कोठाबाटै बेपत्ता भएका छन्।’
बेपत्ताका आफन्त दानबहादुरले नै श्रीमती र छोरालाई गायब बनाएको भन्दै आन्दोलित भएका छन्। उनीहरुले शुक्रवार दिनभर प्रहरी कार्यालयमा धर्ना दिए। ‘बहिनी र भान्जा बस्ने कोठा हेर्दा घटना शङ्कास्पद देखिन्छ,’ गीताका दाजु गौरीले भने, ‘म्यासेन्जरमा बुवालाई जस्तै मान्छे लगाएर सिध्याइ दिन्छु भनेर धम्की दिएको थियो, घटनास्थलको प्रकृति मिल्दोजुल्दो छ।’
प्रहरीले पनि गीता बस्ने कोठाको अवस्था हेर्दा शङ्कास्पद देखिएको बताएको छ। ‘यत्रतत्र सामाग्रीहरू छरिएका छन्, कपाल लुछेको जस्तो देखिन्छ, हराएकी महिलाका मोबाइललगायतका सामाग्रीहरू त्यहीँ छन्,’ प्रहरी निरीक्षक यज्ञराज जोशीले भने, ‘पहिले हराएकी महिला र उनको छोराको खोजीका लागि प्रहरी परिचालन गरेका छौँ।’ प्रहरीका अनुसार दानबहादुरले म्यारेन्जरमार्फत पठाएका म्यासेजहरू परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको जनाएको छ।